काठमाडौं — चिनियाँ राष्ट्रपति सी चिनफिङले केरुङ–रसुवा सीमा नाकामा आएको भीषण पहिरो तथा त्यसबाट नेपालमा भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेललाई अगस्ट २८ मा पठाएको समवेदना सन्देशमा सीले चीन सरकार र चिनियाँ जनताका तर्फबाट विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवार, घाइते तथा प्रभावित क्षेत्रका नागरिकप्रति गहिरो सहानुभूति पनि व्यक्त गरेका छन्।
सन्देशमा सीले केरुङ–रसुवा सीमा क्षेत्रमा आएको भीषण पहिरोका कारण ठूलो मानवीय क्षति भएको, मानिसहरू बेपत्ता भएको तथा सम्पत्तिमा नोक्सानी पुगेको उल्लेख गरेका छन्।
चीनले प्रभावित सीमावर्ती क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार, प्रभावित नागरिकको स्थानान्तरण र पुनर्वास, घाइतेको तत्काल उपचार तथा सम्भावित दोस्रो विपद् रोक्ने काम तीव्र रूपमा गरिरहेको उनले बताएका छन्।
नेपाल र चीन पहाड तथा नदीले जोडिएका र साझा भाग्य बोकेका छिमेकी मुलुक भएको उल्लेख गर्दै राष्ट्रपति सीले नेपालको उद्धार प्रयासमा सक्रिय रूपमा सघाउन तथा चीनको क्षमताले भ्याएसम्म आवश्यक सहयोग र सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन्।
दुवै देशका नागरिकले मिलेर विपद्को सामना गर्न तथा प्रभावित क्षेत्रको पुनर्निर्माण गरी चाँडै सामान्य अवस्थामा फर्कन सक्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
सोही दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई छुट्टै समवेदना सन्देश पठाएका छन्।




