धादिङ, भदौ १४ — त्रिशूली नदीमा पानीको बहाव बढेसँगै धादिङको गल्छी गाउँपालिका–४ स्थित चिरौँदी बस्तीमा बाढी प्रवेश गरेको छ। आइतबार बिहान आएको बाढीले नदी किनारमा रहेका चारवटा घरमा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

प्रहरीका अनुसार बाढीबाट कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलका घर प्रभावित भएका छन्। घटनामा हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताइएको छ।

बाढीको पानी बस्तीमा प्रवेश गरेपछि स्थानीयवासी त्रसित बनेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा बस्ती आसपासका खेतबारी तथा रूखहरू डुबानमा परेको र धमिलो पानी तीव्र गतिमा बगिरहेको देखिन्छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले त्रिशूली नदीको बहाव बढ्दा चिरौँदीका घरहरूमा क्षति पुगेको जानकारी प्राप्त भएको बताएकी छन्। नदीको बहाव अझै बढिरहेको र तटीय क्षेत्र जोखिममा रहेकाले स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।