काठमाडौं — काठमाडौंको त्रिपुरेश्वरमा सार्वजनिक बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभागनजिक आगलागी भएको थियो। घटनामा बसका चालक गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो।
अस्पतालका चिकित्सकका अनुसार चालकको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो र उनको अवस्था सुरुदेखि नै अत्यन्त गम्भीर रहेको थियो। पछिल्लो जानकारीअनुसार उपचारकै क्रममा उनको निधन भएको हो।
घटनाअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा यात्रुहरू बसबाट ओर्लिसकेपछि चालक स्वयं बसभित्र रहेको अवस्थामा आगलागी भएको जनाएको थियो। यद्यपि आगलागीको वास्तविक कारण तथा घटनासँग जोडिएका सम्पूर्ण परिस्थितिबारे अनुसन्धान जारी छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाको विस्तृत छानबिनका लागि एसएसपीको नेतृत्वमा समिति समेत गठन गरेको छ। समितिलाई घटनाको कारण, घटनाअघि भएको भनिएको ट्राफिक विवाद तथा अन्य परिस्थितिबारे अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।
घाइते चालकको परिचयबारे पनि अन्योल देखिएको छ। घटनापछि चालकसँग भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा सुरुमा प्रहरीले उनलाई ‘दावा लामा’ भनेर चिनाएको थियो। तर पछि उक्त लाइसेन्स आफ्नो भएको र आफू सुरक्षित रहेको भन्दै अर्कै व्यक्ति सम्पर्कमा आएपछि प्रहरीले वास्तविक परिचयबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। केही स्रोतले घाइते चालकलाई ‘अर्जुन’ नामले चिनिने व्यक्ति भएको
Summary: त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातको बसमा भएको आगलागीमा ९० प्रतिशतभन्दा बढी शरीर जलेर गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। घटनाको कारणर चालकको वास्तविक परिचयबारे अनुसन्धान जारी छ।




