यूएस नेपाल खबर | अक्टोबर १३, २०२६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारबारे सार्वजनिक भएका आरोपको सत्यतथ्य पत्ता लगाउन आन्तरिक छानबिन अघि बढाउन निर्देशन दिएको छ। पार्टीले छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन भनेको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा असोज २७ गते जारी विज्ञप्तिमा सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उठेका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ। अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन र पदीय नैतिकता कायम राख्न यस्तो निर्देशन दिइएको पार्टीले जनाएको छ।
विज्ञप्तिअनुसार, सार्वजनिक भएका सामग्रीमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोप उठेका छन्। रास्वपाले यी विषयलाई गम्भीर र संवेदनशील भन्दै आफ्ना सदस्य तथा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ।
सुनारसँग सम्बन्धित विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि रास्वपाले जनाएको छ।
पार्टीले राज्यका सम्बन्धित निकायबाट समेत स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। त्यस्तो अनुसन्धानमा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता विज्ञप्तिमा उल्लेख छ।
राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चाल्ने रास्वपाले जनाएको छ। कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ।
विज्ञप्तिमा सुनारलाई सांसद पदबाट निलम्बन वा पार्टीबाट निष्कासन गरिएको घोषणा भने छैन। हालको निर्देशन छानबिनको निष्कर्ष नआएसम्म सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुने विषयमा केन्द्रित छ। सार्वजनिक भएका आरोपको सत्यता र त्यससम्बन्धी जिम्मेवारी अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ।




