काठमाडौं, भदौ १२ — चीनको तिब्बतस्थित छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरो तथा हिमनदीको भग्नावशेषले थुनिएर बनेको ठूलो तालबाट पानी बाहिरिन थालेको छ। चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन्।
चिनियाँ अधिकारीहरूले भने तालको पानीले प्राकृतिक बाँध नाघेर बग्न अर्थात् ‘ओभरफ्लो’ गर्न थालेको बताएका छन्। त्यसैले प्राकृतिक बाँध पूर्ण रूपमा भत्किएको हो वा पानी माथिबाट बग्न थालेको मात्र हो भन्ने विस्तृत प्राविधिक विवरण अझै स्पष्ट भइसकेको छैन।
तालमा २५ लाख घनमिटरभन्दा बढी पानी जम्मा भएको र निरन्तर वर्षाका कारण पानी थपिने अनुमान गरिएको छ। ताल फुट्ने, पहिरो जाने तथा थप आकस्मिक बाढी आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै चिनियाँ उद्धारकर्मी र सवारीसाधनसमेत सुरक्षित स्थानतर्फ सारिएका छन्।
रसुवा प्रशासनले ल्हेन्दे खोला, भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई नदी किनार छाडेर अग्लो तथा सुरक्षित स्थानमा जान सूचना जारी गरेको छ। उद्धारकर्मी, यात्रु तथा स्थानीयवासीलाई पनि अर्को आधिकारिक सूचना नआएसम्म जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।
यसअघि आएको विनाशकारी बाढीपछि सोही माथिल्लो क्षेत्रमा नदी पुनः थुनिएर नयाँ ताल बनेको थियो। पछिल्लो घटनापछि रसुवा, नुवाकोट, धादिङ र चितवनसम्मका नदी तटीय क्षेत्रमा पुनः बाढीको जोखिम बढेको छ।




