नुवाकोट — नुवाकोटको विदुर नगरपालिका–१० अन्तर्गत बेत्रावतीमा बाढीले पुरिएको एउटै घरबाट २४ वटा शव फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार सुरक्षाकर्मीले खोज तथा उत्खनन गर्ने क्रममा सोमबार उक्त घरबाट शवहरू निकालेका हुन्। यसअघि रात परेको, निरन्तर पानी परेको र क्षेत्रमा बाक्लो लेदो तथा दलदल जमेका कारण खोजी कार्य कठिन बनेको थियो।

फेला परेका शवहरूको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। शवलाई पोस्टमार्टम र पहिचानको प्रक्रियाका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको जनाइएको छ।

एउटै घरमा यति ठूलो संख्यामा मानिसहरू कसरी पुगे भन्ने विषय पनि स्पष्ट भइसकेको छैन। प्रारम्भिक रूपमा उक्त भवन होटल वा गेस्ट हाउस हुन सक्ने अनुमान गरिए पनि प्रहरीले यसको पुष्टि भइनसकेको जनाएको छ। घरधनीको पहिचान र घटनाको वास्तविक परिस्थितिबारे अनुसन्धान भइरहेको छ।