काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको प्रतिनिधित्व गर्ने तयारी भइरहेको छ।

यसअघि मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियो। तर भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जलवायु परिवर्तनले नेपाल तथा हिमाली क्षेत्रमा पारेको गम्भीर असरलाई प्रधानमन्त्रीकै तहबाट विश्व समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने आवाज बढेपछि प्रधानमन्त्री शाह स्वयं सहभागी हुने तयारी भएको हो।

परराष्ट्र मन्त्रालयका सम्बन्धित महाशाखा तथा न्यूयोर्कस्थित नेपालको स्थायी नियोगलाई प्रधानमन्त्रीको भ्रमणका लागि तयारी अघि बढाउन निर्देशन दिइएको छ। भ्रमण छोटो राख्ने र प्रतिनिधिमण्डल पनि सानो बनाउने तयारी रहेको समाचारमा उल्लेख छ।

प्रधानमन्त्री शाहले महासभामा भोटेकोशी बाढी, हिमाली क्षेत्रमा बढिरहेको जलवायु जोखिम, जलवायु परिवर्तनबाट नेपालले बेहोर्नुपरेको क्षति तथा जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुख रूपमा उठाउने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्तिको विषयलाई अझ बलियो रूपमा उठाउनुपर्ने बहस भइरहेको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सत्र सेप्टेम्बर ८ देखि न्यूयोर्कमा सुरु हुँदैछ, जबकि उच्चस्तरीय General Debate सेप्टेम्बर २२ बाट सुरु हुने तालिका छ।