बडादसैँको मुख्य दिन विजयादशमी आज कात्तिक ४ गते बुधबार देशभर हर्षोल्लासका साथ मनाइएको छ। मान्यजन तथा ज्येष्ठ सदस्यबाट देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्दै सुख, शान्ति, समृद्धि र दीर्घायुको आशीर्वाद लिइएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा निर्धारण गरेको थियो।
पारिवारिक भेटघाट, आशीर्वाद आदानप्रदान र धार्मिक परम्परासँग जोडिएको विजयादशमीमा समुदायअनुसार रातो तथा सेतो टीका लगाउने चलन छ। आज टीका ग्रहण गर्न नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद लिन सक्ने भएकाले दसैँको टीका तथा भेटघाटको क्रम आगामी दिनमा पनि जारी रहनेछ।
विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शुभसाइतमा पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। त्यसपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई टीका र जमरा लगाइदिएका थिए। राष्ट्रपतिको निजी सचिवालयले उक्त कार्यक्रमबारे जानकारी दिएको हो।
नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकसमेत दसैँको उत्सवमा सहभागी भएका छन्। काठमाडौंको ठमेलस्थित काठमाडौं इको होटलमा बसेका पर्यटकले टीका र जमरा ग्रहण गर्दै विजयादशमी मनाएका हुन्। नेपाली परम्परामा सहभागी भएका उनीहरूले शुभकामना आदानप्रदान गर्दै यहाँको सांस्कृतिक अभ्यासलाई नजिकबाट अनुभव गरेका थिए।
भक्तपुरमा विजयादशमीका अवसरमा ब्रह्मायणी मन्दिरमा धार्मिक अनुष्ठान तथा परम्परागत जात्रा मनाइएको छ। भक्तजनले देवीको पूजा गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका थिए। जमरा, फूल तथा अन्य पूजासामग्री अर्पण गर्नुका साथै परम्परागत नेवारी बाजागाजासहित धार्मिक गतिविधि गरिएको थियो। केही भक्तजनले शरीरमा बलेका दियो राखेर आफ्नो आस्था प्रकट गरेका थिए।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्। उनले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्। हरेक नागरिकलाई सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन आवश्यक रहेको उल्लेख गर्दै उनले अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।


