यूएस नेपाल खबर | डालस, टेक्सास
डालसमा बस्दै आएका ३९ वर्षीय राकेश गोइत गम्भीर स्वास्थ्य समस्यापछि कठिन अवस्थाबाट गुज्रिरहेका छन्। मस्तिष्कमा रक्तस्रावसहितको स्ट्रोक भएपछि उनी हाल अस्पतालमा उपचाररत छन्। स्वास्थ्यमा क्रमिक सुधारका संकेत देखिए पनि शरीरको एक भाग प्रभावित भएकाले उनी अझै पनि आफैं सामान्य दैनिक काम गर्न सक्ने अवस्थामा छैनन्।
उनीलाई सहयोग गरिरहेका विशाल ढकाल का अनुसार, राकेशलाई अचानक गम्भीर प्रकारको स्ट्रोक भएको थियो। त्यसपछि उनको शरीरको एकातर्फको चालचलनमा समस्या देखिएको छ। अहिले उनी बिस्तारै बोल्न सक्ने अवस्थामा पुगेका छन्, तर दैनिक जीवनका अत्यावश्यक कामहरूमा अरूको सहारा चाहिने अवस्था कायमै छ।
यूएस नेपाल खबरले राकेशसँग सम्पर्क गर्दा उनले आफूलाई जतिसक्दो छिटो नेपाल फर्किनुपर्ने आवश्यकता रहेको बताएका छन्। अस्पतालबाट निक्लिएपछि अमेरिकामा बसेर एक्लै जीवन व्यवस्थापन गर्न आफूलाई निकै कठिन हुने उनले बताएका छन्। राकेशको भनाइअनुसार, अहिलेको अवस्थामा शारीरिक रूपमा उनी पूर्ण रूपमा स्वतन्त्र छैनन् र शौचालय जानदेखि लिएर खाना खाने, आराम मिलाउने तथा सामान्य हेरचाहसमेतका लागि अर्को व्यक्तिको सहायता आवश्यक पर्ने स्थिति छ।
विशाल ढकालका अनुसार, राकेश चाँडै अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना छ। तर डिस्चार्जपछि उनको नियमित हेरचाह गर्ने, साथमा बस्ने वा आवश्यक दैनिक सहायता उपलब्ध गराउने कोही नभएकाले अवस्था थप जटिल बनेको छ। यही कारणले पनि उनलाई स्वास्थ्यले अनुमति दिएलगत्तै नेपाल फर्काउने तयारीलाई प्राथमिकता दिइएको हो।
राकेश सन् २००८ मा अमेरिका आएका थिए। लामो समयदेखि अमेरिकामा रहे पनि अहिलेको संकटपूर्ण अवस्थामा परिवारको साथ र भावनात्मक सहयोग आवश्यक भएको महसुस गर्दै उनले नेपाल फर्किने इच्छा व्यक्त गरेका छन्। नेपाल पुगेपछि परिवारको हेरचाह र आत्मीय साथले पुनर्स्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राकेशको उपचार, आवश्यक थेरापी, पुनर्स्थापना, दैनन्दिन हेरचाह तथा स्वास्थ्यले अनुमति दिएपछि उनलाई सुरक्षित रूपमा नेपाल पुर्याउने उद्देश्यसहित “Help Rakesh Recover: Emergency Stroke Recovery Support” शीर्षकमा GoFundMe अभियान सञ्चालन गरिएको छ। अभियानमार्फत बीमाले नसमेट्ने उपचार खर्च, पुनर्स्थापना सेवा, सम्भावित हेरचाह खर्च तथा नेपाल फर्काउने यात्रा व्यवस्थापनका लागि रकम संकलन भइरहेको बताइएको छ।
उपलब्ध विवरणअनुसार, अभियानमा उल्लेख गरिएको प्रमुख उद्देश्य राकेशलाई आवश्यक चिकित्सा तथा पुनर्स्थापना सहयोग उपलब्ध गराउनुका साथै उनी स्वस्थ्य अवस्थासम्म पुगेपछि परिवारको साथमा नेपाल फर्काउनु हो। यसमा आवश्यक परे आवासीय पुनर्स्थापना सेवा, शारीरिक थेरापी, बोलीसम्बन्धी थेरापी, दैनिक काममा सहयोग गर्ने सेवा तथा यात्रासम्बन्धी खर्चसमेत समावेश हुन सक्ने जनाइएको छ।
विशाल ढकालका अनुसार, सम्भव भएसम्म छोटो समयमै आर्थिक सहयोग जुटाएर चिकित्सकीय सल्लाहअनुसार राकेशलाई नेपाल पठाउने प्रयास भइरहेको छ। साथै, उनी एक्लै यात्रा गर्न सक्ने अवस्थामा नरहेकाले अमेरिकाबाट नेपालसम्म साथ जाने व्यक्तिको पनि आवश्यकता पर्न सक्ने बताइएको छ। राकेशलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइदिन सक्ने सहयोगी व्यक्तिको खोजी पनि भइरहेको छ।
राकेशको अवस्था अहिले संवेदनशील रहेकाले आर्थिक सहयोग मात्र होइन, यो अभियानलाई धेरै मानिससम्म पुर्याउन पनि अनुरोध गरिएको छ। सहयोग गर्न नसक्नेहरूले पनि अपिललाई सेयर गरेर, आवश्यक सम्पर्कमा जोडेर वा नेपाल फर्काउने प्रक्रियामा सहयोग पुर्याएर महत्त्वपूर्ण योगदान दिन सक्नेछन्।
हाल सबैको ध्यान राकेशको स्वास्थ्य स्थिर बनाउने, अस्पतालबाट डिस्चार्जपछिको असहज अवस्था व्यवस्थापन गर्ने र सम्भव भएसम्म छिटो नेपाल फर्काउनेतर्फ केन्द्रित छ। अमेरिकामा एक्लै संघर्ष गरिरहेका राकेशका लागि यो अप्ठ्यारो घडीमा नेपाली समुदायको साथ, सहयोग र सहानुभूति अत्यन्त महत्त्वपूर्ण बन्न पुगेको छ।
सम्पर्क: राकेश गोइत
फोन: (214) 529-2528
सहयोग गर्न: राकेशको उपचार तथा पुनर्स्थापनामा साथ दिनुहोस्


