वाशिङ्टन—अमेरिकी सरकारले संघीय कार्यक्रम तथा सार्वजनिक रकमसँग सम्बन्धित ठगी पत्ता लगाउन सर्वसाधारणको सहयोग लिने उद्देश्यले नयाँ पुरस्कार कार्यक्रम सुरु गरेको छ।
अमेरिकी न्याय मन्त्रालयले अक्टोबर २० मा घोषणा गरेको Fraud Whistleblower Incentive Program (WHIP) अन्तर्गत उपयोगी सूचना दिने व्यक्तिले १० हजारदेखि ३० हजार डलरसम्म पुरस्कार पाउन सक्नेछन्। मन्त्रालयका अनुसार उपलब्ध गराइएको सूचनाले निश्चित प्रकारका ठगीसम्बन्धी आपराधिक अभियोग दर्ता गर्न सहयोग गरेको अवस्थामा पुरस्कारका लागि विचार गरिनेछ।
यस कार्यक्रमका लागि अमेरिकी अर्थ मन्त्रालयले २ करोड ५० लाख डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। पुरस्कार वितरणसम्बन्धी अन्तिम निर्णय न्याय मन्त्रालयको स्वविवेकमा रहने आधिकारिक विवरणमा उल्लेख छ।
अरू कार्यक्रमभन्दा के फरक छ?
अमेरिकामा ‘False Claims Act’ लगायतका कानुनमार्फत ठगीको सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था यसअघि पनि थियो। तर त्यस्ता कार्यक्रममा मुद्दाको अन्तिम फैसला, जफत प्रक्रिया र पुनरावेदन पूरा भएपछि मात्र पुरस्कार प्रदान गरिने अवस्था रहन्थ्यो।
नयाँ WHIP कार्यक्रमले भने विश्वसनीय सूचनाका आधारमा आपराधिक अभियोग दर्ता भएपछि नै पुरस्कार दिने व्यवस्था अघि सारेको छ। न्याय मन्त्रालयले यसलाई ठगीसम्बन्धी सूचनादातालाई तुलनात्मक रूपमा चाँडो प्रोत्साहन गर्ने कार्यक्रम भनेको छ।
ह्वाइट हाउसले सार्वजनिक गरेको व्याख्यामा ठगीमा दोषसिद्धि वा महत्त्वपूर्ण संघीय कारबाहीसम्म पुर्याउने सूचना पुरस्कारका लागि योग्य हुन सक्ने बताइएको छ। यसको अर्थ सामान्य आरोप, सामाजिक सञ्जालमा गरिएको दाबी वा प्रमाणहीन उजुरीका आधारमा मात्र पुरस्कार पाइने छैन।
पुरस्कार रकमबारे फरक अभिव्यक्ति
राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा कार्यक्रममा पत्ता लागेको ठगी रकमको एक प्रतिशतसम्म पुरस्कार दिन सकिने बताएका थिए। तर न्याय मन्त्रालयको औपचारिक विवरणले पुरस्कारको दायरा १० हजारदेखि ३० हजार डलरसम्म तोकेको छ। साथै, पुरस्कार निर्धारण गर्ने अधिकार न्याय मन्त्रालयमै रहने उल्लेख गरिएको छ। त्यसैले कार्यक्रम कार्यान्वयन गर्दा मन्त्रालयले जारी गरेको औपचारिक मापदण्ड मुख्य आधार बन्ने देखिन्छ।
उपराष्ट्रपति जेडी भान्सले नेतृत्व गरेको संघीय ठगीविरोधी कार्यदलसँग पनि यो कार्यक्रम जोडिएको छ। उक्त कार्यदल राष्ट्रपति ट्रम्पले मार्चमा गठन गरेका थिए।
घोषणाका क्रममा कन्जरभेटिभ अनलाइन सामग्री निर्माता निक शर्लीलाई १० हजार डलर पुरस्कार दिने बताइएको थियो। मिनेसोटाका केही बाल हेरचाह केन्द्रसँग सम्बन्धित उनको भिडियोपछि संघीय अनुसन्धान सुरु भएको थियो। यद्यपि उनका केही दाबीलाई राज्यका अधिकारीहरूले भ्रामक र बढाइचढाइ गरिएको बताएका थिए। पछि भिडियोमा देखाइएको एउटा केन्द्रकी सञ्चालकले ठगीसम्बन्धी अभियोग स्वीकार गरेकी थिइन्।
नयाँ कार्यक्रमले सरकारी रकमको दुरुपयोगबारे सूचना दिन सर्वसाधारणलाई आर्थिक प्रोत्साहन प्रदान गरेको छ। तर पुरस्कारका लागि आरोप मात्र नभई अनुसन्धानमा उपयोगी हुने विश्वसनीय प्रमाण र त्यसबाट उत्पन्न कानुनी कारबाही आवश्यक पर्नेछ।




