न्युयोर्क — संयुक्त राज्य अमेरिकाले नेपालमा हालै आएको विनाशकारी बाढीपछिको पुनर्लाभ, पुनर्स्थापना तथा भविष्यको विपद् व्यवस्थापनका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने योजना घोषणा गरेको छ। नयाँ घोषणासँगै नेपालको बाढी प्रतिक्रिया तथा पुनर्लाभमा अमेरिकी सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने अन्डर सेक्रेटरी एलिसन हुकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच न्युयोर्कमा भएको भेटवार्ताका क्रममा उक्त सहयोग घोषणा गरिएको हो। भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको थियो।

घोषित सहयोगमध्ये १ करोड डलर बाढी प्रभावित क्षेत्रमा स्थायी तथा आवश्यकताअनुसार डिजाइन गरिएका पुल निर्माणका लागि उपलब्ध गराउने योजना छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिनेछन् र क्षतिग्रस्त यातायात पूर्वाधार पुनर्स्थापना गर्दै क्षेत्रीय सम्पर्क सुधार गर्न प्रयोग गरिनेछ। यस हिस्साका लागि अमेरिकी प्रशासनले कंग्रेससँग काम गर्ने जनाएको छ।

त्यसैगरी ८० लाख डलर खानेपानी, सरसफाइ तथा स्वच्छता, अस्थायी तथा सुरक्षित आश्रय, संरक्षण, जीविकोपार्जन र जाडो मौसमका लागि आवश्यक सहयोगमा प्रयोग गर्ने योजना छ।

बाँकी १ करोड ३० लाख डलर बराबरका अमेरिकामा निर्मित ड्रोन भविष्यमा हुने विपद्पछिको खोज, क्षतिको मूल्यांकन तथा पुनर्लाभ कार्यलाई प्रभावकारी बनाउन उपलब्ध गराउने अमेरिकी विदेश मन्त्रालयको योजना छ।

भेटका क्रममा हुकरले नेपालमा आएको बाढीबाट प्रभावित सबैप्रति अमेरिकाको सहानुभूति व्यक्त गरेकी थिइन्। अमेरिकी विदेश मन्त्रालयले बाढीपछि अझै सम्पर्कविहीन रहेका करिब ७० अमेरिकी नागरिकका परिवारप्रति पनि सहानुभूति व्यक्त गरेको जनाएको छ।

अमेरिकाले आगामी दिनमा पनि नेपाल सरकारसँग समन्वय गर्दै सहायता सबैभन्दा आवश्यक क्षेत्रमा पुर्‍याउन काम जारी राख्ने बताएको छ। पछिल्लो सहायता घोषणाले तत्कालको राहतसँगै दीर्घकालीन पूर्वाधार पुनर्निर्माण र भविष्यको विपद् तयारीलाई पनि समेटेको छ।