डलास, टेक्सास — डलास–फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायबीच आयोजना गरिएको चौथो Lone Star Cup 2026 सफलतापूर्वक सम्पन्न भएको छ। आयोजक Euless Royal FC को नेतृत्वमा भएको प्रतियोगितामा Open र 35+ गरी दुई क्याटेगोरीमा टोलीहरूले प्रतिस्पर्धा गरेका थिए।
Open Category मा Mango FC च्याम्पियन बनेको छ भने Royal FC उपविजेता बनेको छ। त्यस्तै, 35+ Category मा DFW Himalayas ले उपाधि जित्दा Dallas Gurkhas FC उपविजेता बनेको छ।
प्रतियोगितामा कुल १४,००० अमेरिकी डलर पुरस्कार राशि वितरण गरिएको थियो। विजेता Mango FC र DFW Himalayas ले ५,०००/५,००० डलर प्राप्त गरे भने उपविजेता Royal FC र Dallas Gurkhas FC ले २,०००/२,००० डलर प्राप्त गरे।
व्यक्तिगत प्रदर्शनतर्फ Open Category मा Mango FC का Salil Subedi ले १० गोल गर्दै Golden Boot जिते। 35+ Category मा DFW Himalayas का Niraj Thapa ६ गोलसहित सर्वाधिक गोलकर्ता बने।
यस वर्षको प्रतियोगिताले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको थियो। आयोजक Euless Royal FC ले प्रतियोगितामा भएको प्रत्येक गोलबापत ५ डलर सहयोग गर्ने घोषणा गरेको थियो। प्रतियोगिताभर कुल २२० गोल भएपछि त्यसबाट १,१०० डलर नेपालका विपद् पीडितका लागि सहयोग गरिएको छ।
त्यसैगरी, Luxor Diamonds International ले आफ्नो प्रतिबद्धताअनुसार थप २,००० डलर सहयोग गरेको छ। यससँगै नेपालका विपद् पीडितका लागि कुल ३,१०० अमेरिकी डलर सहयोग संकलन तथा पठाइएको आयोजकले जनाएको छ।
खेलकुद, समुदाय र सामाजिक सेवाको भावनालाई एकसाथ जोडेको Lone Star Cup 2026 ले डलास–फोर्टवर्थ क्षेत्रमा नेपाली फुटबलको सक्रियता देखाउनुका साथै मातृभूमिप्रतिको सहयोग र ऐक्यबद्धताको सन्देशसमेत दिएको छ।




