डलास, टेक्सास — परदेशमा नेपाली चाडपर्व र संस्कृतिको उत्सवसँगै मातृभूमिमा परेको विपत्तिमा साथ दिने उद्देश्यले आयोजित ‘Teej Fest Dallas 2026’ सम्पन्न भएको छ। नेपालमा बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि कार्यक्रममार्फत कुल २,५०० अमेरिकी डलर सहयोग गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ।

Namaste Entertainment को आयोजनामा सेप्टेम्बर १२ मा Namaste Grill & Sports Bar, Irving मा सम्पन्न कार्यक्रम Teej Fest Dallas को दोस्रो संस्करण हो। यस वर्षको कार्यक्रमलाई विशेष रूपमा नेपालका बाढीपहिरो पीडितप्रति समर्पित गर्दै बिक्री हुने प्रत्येक टिकटबाट १० डलर राहत सहयोगका लागि छुट्याइएको थियो।

अनलाइन तथा डोर सेलमार्फत कुल १०३ वटा टिकट बिक्री भएका थिए। प्रतिटिकट १० डलरका दरले १,०३० डलर राहतका लागि छुट्याइएको थियो। कार्यक्रमस्थलमा राखिएको Donation Box बाट थप १६० डलर संकलन भएपछि समुदायको सहभागिताबाट कुल १,१९० डलर जुटेको हो।

समुदायबाट संकलित उक्त रकममा Namaste Group USA ले थप १,३१० डलर योगदान गर्दै कुल सहयोग रकम २,५०० डलर पुर्‍याएका छन्।

कार्यक्रममा चर्चित गायिका सिन्धु मल्ल र गायक तथा संगीतकार आशिष अविरलले सांगीतिक प्रस्तुति दिएका थिए। त्यसैगरी, डलास क्षेत्रमा नेपाली कला–संस्कृति तथा सांस्कृतिक नृत्यको प्रवर्द्धनमा सक्रिय स्थानीय समूह The Mandala ले विशेष सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो। DJ Raj ले पनि आफ्नो ऊर्जावान DJ प्रस्तुतिमार्फत सहभागीहरूलाई नचाउँदै कार्यक्रमको माहोललाई थप उत्साहपूर्ण र मनोरञ्जनात्मक बनाएका थिए। सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूले तीज उत्सवलाई थप मौलिक र जीवन्त बनाएको थियो।

Namaste Entertainment का कुमार बुढाथोकीका अनुसार, संकलित सहयोग रकम नेपाल सरकारको आधिकारिक राहत कोषमा पुग्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO) मार्फत आधिकारिक माध्यमबाट जम्मा गर्ने निर्णय गरिएको छ।

उहाँले कार्यक्रम सफल बनाउन साथ दिने डलास–फोर्ट वर्थका सम्पूर्ण नेपाली समुदाय र विशेषगरी तीज कार्यक्रममा सहभागी नेपाली दिदीबहिनीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।

“यो सहयोग कुनै एक व्यक्ति वा संस्थाको मात्रै होइन,” बुढाथोकीले भन्नुभयो, “कार्यक्रममा आउनुहुने, टिकट खरिद गर्नुहुने, Donation Box मा सहयोग गर्नुहुने र विभिन्न तरिकाले साथ दिनुहुने डलासका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको यसमा उत्तिकै योगदान छ। सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।”

तीजको खुसीलाई मातृभूमिको पीडासँग जोडिएको यस पहलले विदेशमा रहेका नेपाली समुदायका लागि चाडपर्व संस्कृति र मनोरञ्जनको उत्सव मात्र नभई सामाजिक उत्तरदायित्व, सहयोग र एकताको माध्यम पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ।

सहयोगकोहिसाब:१०३टिकट × $10 = $1,030; Donation Box = $160; समुदायबाटजम्मा = $1,190; Namaste Group USA को थप योगदान = $1,310; कुलसहयोग = $2,500।